
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका निजी सचिव (स्वकीय सचिव) अनिलकुमार पोखरेल व्यक्ति ठगी प्रकरणमा मुछिएका छन् ।
आफ्ना निजी सचिव ठगीमा मुछिएपछि प्रतिनिधिसभा सदस्य ऋषिकेशले कारबाही गरेका छन् । उनले स्वकीय सचिव ४३ वर्षीय अनिलकुमार पोखरेललाई शुक्रबार जिम्मेवारीबाट हटाएका हुन् ।
अनिलको घर मोरङको रंगेली नगरपालिका–२ हो । उनी काठमाडौं बस्दै आएका छन् । उनले एमबीबीएस भर्ना गर्नका लागि भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगेको बताइन्छ । अनिल एमाले मोरङका सदस्य हुन् ।
अनिलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर, छोरीको नाम ननिस्किएपछि बौआलालले पैसा फिर्ता मागे ।
पैसा फिर्ता गर्नुको साटो उल्टै अनिलले धम्क्याएको उनको गुनासो छ । हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर २०७९ साउन ९ गते आफूलाई ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएको बौआलालको गुनासो छ । ऋण लिएको भनेर आफूलाई जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर कपाली तमसुक बनाएको उनले बताए ।
कपाली तमसुक बनाएपछि बौआलाल प्रहरीको सम्पर्कमा पुगे । जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसुरमा कारवाही गर्न भन्दै जाहेरी दिन गएपनि प्रहरीले जाहेरी लिन नमानेको गुनासो उनको छ ।
प्रहरीले दर्ता नगरेपछि जबरजस्ती कागज बनाएको ९ दिनपछि २०७९ साउन १८ गते हुलाकमार्फत जाहेरी पठाए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले २०७९ साउन ३१ गते ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए ।
उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले गत भदौ ३१ गते पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाही अघि बढाउन अन्तिम आदेश दिएको थियो । पुस ११ गते आदेश प्रमाणिकरण भएको हो ।
अदालतबाट प्रमाणिकरण भएको आदेश प्रहरी कार्यालयमा पुगेको छैन । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले अदालतको आदेश आएपछि थप प्रक्रिया अघि बढ्ने बताए । ‘यो विषयमा अदालतले दिएको आदेश हाम्रोमा आइपुगेको छैन । आएपछि थप अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो विषयमा हामी बुझ्दैछौं,’ उनले भने ।
लेखा समिति सभापति ऋषिकेशकी पत्नी अञ्जला कोइराला मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारीको बचत अपचलन प्रकरणमा गत पुस ३ गतेदेखि फरार छिन् । अञ्जलासहित २६ जनाविरुद्ध मंसिर २७ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।
उनी विराटनगरको महेन्द्र रात्रि विद्यालयकी शिक्षिका हुन् । विद्यालयबाट बिदा लिएर अञ्जला फरार भएको प्रहरीले जनाएको छ ।
यस्तो छ आदेशको पूर्णपाठ

























