
विराटनगर । विराटनगरमा अहिले केहीबेर अघि भारतीय नम्बर प्लेटको ट्रकमा ३ जना सवार मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।
विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन् ।
नयाँ भन्सार कार्यालय (आईसीपी)बाट विराटनगरतर्फ आउँदै गरेको कोइला लोड गरिएको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल साँझ ५ः२५ बजेतिर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए ।
घाइतेमध्ये मोटरसाइकल चालक विराटनगर–१५ का अन्दाजी १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको जोशीले बताए । उनका अनुसार उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ साँझ ६ बजेतिर सुरजलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार विराटनगर–१५ का अन्दाजी १६ वर्षीय आदित्य साह र विराटनगर–१४ का अन्दाजी १८ वर्षीय विकासकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आदित्वको अवस्था मध्यम र विकासको अवस्था सामान्य छ ।
दुर्घटनालगत्तै कोइला लोड गरिएको ट्रक सडकको साइडमा पल्टिएको थियो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























