
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ मुडेरीस्थित रमाइलो टोलबाट लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ भुवन श्रेष्ठ नेतृत्वको टोलीले २ वटा मोटरसाइकल चेकजाँच गर्दा २९ किलोग्राम गाँजा बरामद भएको थियो । प्रदेश १–०२–०४३ प ५३५८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४२ प २७३६ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुवै मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गर्दा २ वटा झोलामा २९ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा भेटिएपछि ५३८५ नम्बरको मोटरसाइकलमा सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का ३० वर्षीय मोहन राई र २७३६ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको दुहबी नगरपालिका–६ का २१ वर्षीय विशालकुमार पासवान तथा मोटरसाइकलको पछाडि सवार भारतको अररियाका १९ वर्षीय मुन्नाकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट गाँजासहित ७३ हजार ५ सय ६० रूपैयाँ नगदसमेत बरामद भएको छ । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























