
काठमाडौं । धर्ना बस्न सिंहदरबारको दक्षिण गेटमा पुगेका ‘ग्रेटर नेपाल’ अभियानका अभियन्ता एवं सञ्चालक फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोडेर धर्ना बस्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दक्षिण गेटबाट पक्राउ गरेको हो । नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४ बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी दिएका थिए ।
उनले फेसबुकमा लेखेका छन्, ‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने तथा चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन्–झन् मौन रहनेछ, इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२ः०० बजेदेखि ४ः०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।’

























