
विराटनगर । सहकारीको रकम अपचलन मुद्दामा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख धरौटी बुझाएर छुटेकी छन् ।
बुधबार माेरङ अदालतमा हाजिर भएकी काेइरालालाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनले नगद १० लाख धरौटी बुझाएकी हुन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते सार्वजनिक लेखासमिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
सहकारीकाे बचत अपचलन आराेपमा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । यो एकमुष्ट बिगो दाबी हो । प्रतिबादीलाई कसूर अनुसारको बिगो दाबी गर्नु पर्नेमा याे मुद्दामा बिगाे दाबी गरिएकाे छैन । सहकारीकाे बचत अपचलनका अन्य मुद्दामा भने प्रतिबादीलाई कसुर अनुसारकाे बिगाे दाबी गरिएकाे थियाे ।
याे सहकारीकाे बचत अपचलन आराेपमा मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । राजवंशी धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष हुन् । उनी आफू पनि अध्यक्ष शम्भुप्रसाद रौनियारबाट ठगिएको भन्दै निवेदन लिएर प्रहरी कार्यालय पुगेका थिए । उनलाई नियन्त्रणमा लिएकाे प्रहरीले अन्य २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेकाे थियो ।
मुद्दा दर्ता भएपछि शिक्षिकासमेत रहेकी कोइराला फरार थिइन् । उनी बुधबार बिहान कानुन व्यावसायीसहित उपस्थीत भएकी थिइन् । अदालतमा उनकाे पक्षमा ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए ।
यसअघि रंगेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास भने पाँच लाख धरौटीमा छुटेका थिए । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।
यो सहकारी संघिय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलसँग नजिक रहेका उनका कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेका थिए । मुद्दा दर्ता भएपछि उनी पनि फरार छन् । सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छिन् । सहकारीबाट ठगिएका २० जना ऋणीले निवेदन दिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले कोइरालालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

























