
विराटनगर। प्रहरीले झापाकाे काँकरभिट्टाबाट गैंडाको खाग जस्ताे देखिने बस्तु र लागूऔषाधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार साढे ३ बजे झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टामा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले एउटा गैंडाको खाग जस्ताे देखिने बस्तु र लागूऔषाधसहित भारतकाे वेष्ट बङगालको उत्तर मेन्दाबारीका नारायण रामधामलाई पनि पक्राउ गरेको हाे ।
उनी हाेटलकाे कोठा १०२ बुकिङ गरी बसेका थिए ।
लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी होटलमा पुगेको थियो ।
प्रहरीले उनी बसेकाे काेठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने बस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । कार्टुन भित्र राखेको अवस्थामा भेटिएकाे खाग जस्ताे बस्तुकाे सतहको गोलाइ १८.६ईन्च, उचाई ८.६ इन्ज र तौल १ केजी ७०० ग्राम छ ।
गैंडाको खाग हाे हाेइन भन्ने विषय परिक्षण पछि मात्रै खुल्ने प्रहरीले बताएकाे छ । उनकाे साथबाट प्लास्टिकको पोका भित्र राखेको अवस्थामा ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरेकाे छ । पेभन स्पास प्लस लेखिएकाे ट्याब्लेट १८ पत्ता, लागुऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धान भइरहेको तामाङले बताइन् ।

























