
विराटनगर । विराटनगरमा अहिले केही बेरअघि यात्रुवाहक बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हिमाल आँखा अस्पताल अगाडि साँझ ५ः५० बजेतिर दुर्घटना भएको हो । रानीबाट विराटनगर बसपार्कतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले बाटो काट्दै गर्दा पैदलयात्री महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बसको ठक्करबाट विराटनगर–१४ बस्ने अन्दाजी ५५ वर्षीया हक्री खातुन गम्भीर घाइते भएकी थिइन् । खातुनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६ः१० बजेतिर मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए । दुर्घटनालगत्तै प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
तीव्र गतिमा रहेको बसले पैदलयात्री महिलालाई सडक क्रस गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसको तीव्र गति र पैदलयात्रीले जथाभावी सडक पार गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

























