
सिन्धुली । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको हायस माइक्रो सिन्धुलीको सुनकोसी गाउँपालिका–६ कानढुंग्रेमा बिहीबार साँझ दुर्घटनामा परेको छ ।
बा ३ ख ८४४५ नम्बरको हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका गुप्ताको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पछाडिको टायर पन्चर हुँदा सडक छेउको डीभाईडरमा ठोक्किएर हायस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ भने अरु ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

























