
काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण आज (आइतबार) बिहानैबाट तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।
पहाडी क्षेत्रको मौसम भने सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा दिउँसो आंशिक बदली हुनसक्ने पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाँकी प्रदेशमा आज सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ । महाशाखाले बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने जनाएको छ ।

























