
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वी तराईमा आज (आइतबार) बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
हुस्सुसँगै चिसो बढेको महसुस भएको छ । हुस्सुका कारण करिब सय मिटर परको दृश्य पनि राम्ररी देख्न सकिँदैन । जनजीवन प्रभावित बनेको छ ।
हुस्सुसँगै शीतलहरको सम्भावना पनि छ । चिसोका कारण आर्थिक अवस्था कमजोर भइ वासस्थानको उचित व्यवस्थापन नभएका गरिब तथा सुकुम्बासीहरु समस्यामा परेका छन् । बढ्दो चिसोले गर्भवती, वृद्धवृद्धा तथा बालबालिकालाई पनि उत्तिकै असर पुर्याएको छ ।

हुस्सुसँगै बढेको चिसोले सार्वजनिकस्थलमा चहलपहल कम छ । चिसोका कारण अस्पतालमा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्या बढ्दै गएको छ ।
बाक्लो हुस्सुका कारण बाटो स्पष्ट नदेखिने गरेकाले सवारी दुर्घटना हुने सम्भावना पनि बढेको छ । ‘रोड भिजिविलिटी’ कम हुँदा सवारीसाधन ठोक्किएर दुर्घटनामा पर्ने सम्भावना बढेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले दुर्घटनाको जोखिम बढेसँगै चालकलाई सावधानीका साथ सवारीसाधन चलाउन आग्रह गरिएको बताए । स्थानीय प्रशासनले एक्कासि जाडो बढेकाले त्यसबाट बच्नका लागि सचेत हुन सबैमा अनुरोध गरेको छ ।






































