
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बालबालिकालाई आफ्नो इच्छा र क्षमता अनुसार अघि बढाउनुपर्ने बताएका छन् ।
‘अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, इन्जिनियर बनाउने सपना मात्र देख्न हुँदैन । उनीहरुको इच्छा र क्षमता अनुसार नै अघि बढ्न दिनुपर्छ,’ उनले भने । आफ्नो बच्चाले राम्रो पढोस् भन्ने चाहना अभिभावकमा हुनु स्वभाविक भएपनि बच्चको भविष्य उसको इच्छा अनुसार नै तय गर्न मार्ग दर्शन गर्नुपर्ने कोइरालाको भनाइ छ ।
बालबालिकाको अनेक क्षेत्रका रुची हुने भन्दै उनले रुचीलाई सार्थक बनाउँदा लाग्दा चैं प्रतिफल प्राप्त हुने उनले बताए । कोइरालाले विराटनगर– ५ स्थित एभरेष्ट स्कुलजस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको उल्लेख गरे ।
‘एभरेष्ट स्कुलले अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण दिएको छ । यो स्कुल अधिकांश अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ,’ आफ्नो बाल्यकाल सम्झिँदै उनी भन्छन्, ‘गुणस्तरीय शिक्षाका लागि म बाहिर जानु परेपनि मेरी छोरीलाई त्यही वातावरण एभरेष्ट स्कुलले प्रदान गरेको छ । एभरेष्ट स्कुलजस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको छ ।’
एभरेष्ट स्पोर्ट्स वीक (एभरेष्ट खेलकुद सप्ताह) –२०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि एभरेष्टले भूमिका खेलिरहेको चर्चा गरे । उनले विराटनगर महानगरपालिकाले समेत महानगरका सबै सामुदायिक विद्यालयमा हरेक शुक्रबार हास्दै–खेल्दै पढ्ने अभियान चलाएको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालय स्थापनाको ३१ औं वर्ष पूरा भएको भन्दै सम्पूर्ण अभिभावक तथा सरोकारवालाको विश्वासले एभरेष्ट स्कुल देशकै उत्कृष्ट विद्यालयमध्येमा पर्ने बताए । ‘हाम्रा विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ सोही अनुसारको वातावरण तयार गरिएको छ,’ उनले भने ।
स्कुलका प्रिन्सिपल टीकाराम पुरीले अन्तर्राष्ट्रियस्तरको शिक्षा विराटनगरमा प्रदान गर्नुपर्छ भन्ने उद्देश्य आफूहरुको रहेको बताए । यसका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिएको उनको भनाइ छ । शैक्षिक ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उसैगरी लगानी गरिएको पुरीको भनाइ छ ।
स्कुलले पटक–पटक सरकारबाट राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार र विभिन्न संघ संस्थाहरुबाट दर्जनौं सम्मान प्राप्त गर्नु उत्कृष्टताको नमुना भएको पुरीले बताए । अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुदका प्रशिक्षकबाट नियमित प्रशिक्षण गराउँदै आएको एभरेष्टले खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरु बीच स्पर्धा गराउँदैछ ।
करिब १ हजार ५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिने छन् । खेलकुद सप्ताहको उद्घाटनका दिन विद्यार्थीहरुले विभिन्न खेल कौशलहरु प्रस्तुत गरे भने संगीत र नृत्य प्रस्तुत गरेर अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाए ।
स्काउटको मार्च पास, तेक्वान्दो र कराँतेका विभिन्न कौसलले उपस्थित सबैको ध्यान खिचेको थियो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका प्रमुख दामोदर गुरागाईं, विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख जीवन गड्तौला, प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन विराटनगर महानगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थिति थियो ।



















