
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–११ मा ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।
प्रदेश १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा पैदल हिँडिरहेका ८६ वर्षीय वीरबहादुर लामिछानेको मृत्यु भएको हो । पैदल हिँडिरहेका वृद्धलाई ट्रकले आइतबार दिउँसो ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक धरान–८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























