
विराटनगर । मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ हाफपाइन्ट चोकमा बोलेरो गाडी र अटो टेम्पो ठोक्किएर सोमबार बिहान दुर्घटना भएको छ ।
दुर्घटनामा १ जना महिलाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो एकआपसमा ठोक्किएर बिहान १०ः५० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर अटोमा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार गम्भीर घाइते भएकी अमृतलाई बुधबारेस्थित सीटी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले १२ बजेतिर मृत घोषित गरेको जानकारी डीएसपी चन्दले दिए ।
दुर्घटनामा परेर अटोमा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक झापाकै मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन् । घाइते तीनै जनाको सीटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो चालक बुद्धशान्ति–४ का ५३ वर्षीय अजय मोक्तान सकुशल छन् । बोलेरो र अटोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी चन्दले बताए ।


























