
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज (मंगलबार) बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुसँगै चिसो बढेको महसुस भएको छ ।
विराटनगरसहित तराईका अन्य जिल्लाहरुमा समेत हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईमा शीतलहरको सम्भावना छ । हुस्सुका कारण करिब सय मिटर परको दृश्य पनि राम्ररी देख्न सकिँदैन । जनजीवन प्रभावित बनेको छ ।
हुस्सुसँगै बढेको चिसोले सार्वजनिकस्थलमा चहलपहल घटेको छ । ‘रोड भिजिविलिटी’ कम हुँदा सडकमा सवारीसाधन साधन सञ्चालनमा पनि समस्या भइरहेको छ । जसका कारण सवारी दुर्घटना हुने सम्भावना पनि बढेको छ ।
दुर्घटनाको जोखिम बढेसँगै चालकलाई सावधानीका साथ सवारीसाधन चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । चिसो बढेकाले सुरक्षित हुन मौसमविद्हरुले सबैमा आग्रह गरेका छन् ।


































