
विराटनगर । मोरङको रंगेली नगरपालिका–२ जलिया टोलस्थित इष्टर्न स्टार कृषि फार्मभित्र राखिएको स्काईभेटरमा आगलागी भएको छ ।
कृषि फार्मभित्र खुला चउरमा राखिएको बा ३ क ३५९६ नम्बरको स्काईभेटरमा बुधबार बिहान ५ः४० बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार स्काईभेटर धनी यशोदा राईले घटनाको जानकारी गराएकी हुन् ।
स्थानीयको सहयोगमा प्रहरीले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट स्काईभेटरको टायरलगायतका भागहरु जलेर क्षति पुगेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो अरुले नै लगाइदिएका हुन् कि आफैं लागेको हो भनेर खुल्न नसकेको हो । स्काईभेटर बिग्रिएर ४ दिनदेखि फार्मभित्र राखेको पाइएको प्रहरीले जनाएको छ ।
डीएसपी जोशीले वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

























