
काठमाडौं । अवैध रूपमा अमेरिका बस्दै आएका तीन जना नेपाली निष्काशनमा परेका छन् ।
लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासित भएका हुन् । उनीहरू केही समयदेखि अमेरिकामा गैरकानुनी रूपले बस्दै आएका थिए ।
लोकबहादुर गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गरेका थिए भने लीलाबहादुर र दीपक गैरकानुनी तरिकाले अमेरिकामा बस्दै आएका हुन् । अमेरिकी अध्यागमनले एक साताअघि निष्काशन गर्दै उनीहरुलाई नेपाल फिर्ता पठाएको छ ।
तीनै जना एयर इन्डियाको जहाजबाट गत साता काठमाडौं आएको स्रोतले बतायो । कार्यभार सम्हाल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीहरूलाई निष्काशन गर्ने बताएका थिए ।
सपथ लिएकै दिन ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यादेश जारी गरेका छन्। जसअन्तर्गत गैरकानुनीरूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले लिएको हो। यसअघि पनि अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरू निष्कासित भएका थिए ।

























