शीतलहरले जनजीवन प्रभावित, कस्तो छ मोरङ प्रशासनको तयारी ?

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार ०९:३०

विराटनगर । शीतलहरका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित तराईको जनजीवन प्रभावित बनेको छ ।

विराटनगरलगायत विभिन्न स्थानमा आज (बिहीबार) बिहानैदेखि शीतलहर चलिरहेको छ । शीतले सडक पानी परेर भिजेको जस्तो देखिन्छ । केही दिनदेखि बाक्लो हुस्सु लागेका कारण घाम देख्न पाइएको थिएन । आकाश खुल्न सकेको छैन । निरन्तर हुस्सु लागिरहेका बेला शीतलहर चल्न थालेको हो ।

मौसम धुम्म भएका बेला चल्न थालेको शीतलहरले चिसो अत्यधिक बढाएको छ । सर्वसाधारण समस्यामा पर्न थालेका छन् । मौसम चिसिदै गएर ठिही बढेको हो । केही दिन यस्तै अवस्था रहने अनुमान छ । मौसममा सुधार हुन समय लाग्ने मौमसविद्हरू बताउँछन् ।

बढ्दो ठिहीले जनजीवनलाई असर गरिरहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका नायव मौसम विज्ञान सहायक अमूल्य कर्माचार्यले बताए । उनका अनुसार बिहीबार बिहान विराटनगरको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस मापन गरिएको छ । यसवर्षको सबैभन्दा कम तापक्रम गत आइतबार ८.६ डिग्री मापन गरिएको जानकारी कर्माचार्यले दिए ।

पश्चिमी न्यून चापीय प्रणालीको असरका कारण शीतलहर चल्ने तथा आकाशमा बादल लाग्ने क्रम एकैपटक हुँदा धेरै चिसो महसुस भएको उनको भनाइ छ । ‘प्रतिकूल मौसमका कारण चिसो बढेको हो,’ उनी भन्छन्, ‘सुरक्षित हुनका लागि सचेत भएर सावधानी अपनाउनुपर्छ ।’ चिसोमा ज्यान बचाउने उपायको खोजी उत्तम विकल्प हुने कर्माचार्य बताउँछन् ।

चिसो बढेसँगै सार्वजनिक स्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम हुँदै गइरहेको छ । जाडो बढ्दा पारिवारिक आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने अवस्थाका तथा वासस्थानको उचित व्यवस्था नभएकाहरू, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी, बालबालिकालगायत समस्यामा परेका छन् ।

यस्तो अवस्थामा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । हुस्सु लागेको समयमा अगाडिको ‘फक्स लाइट’ बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आह्वान गरिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।

‘रोड भिजिविलिटी’ कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने हुँदा दुर्घटनाको जोखिम बढेको लम्सालको भनाइ छ । दैनिक व्यस्त रहने विराटनगर विमानस्थलमा मौसममा आएको खराबीले ‘भिजिविलिटी’ कम हुँदा जहाजको उडान र अवतरणमा समस्या भइरहेको छ । उडान नै अवरुद्ध भइरहेको हो ।

प्रत्येक दिन बिहान ७ः३० बजेदेखि विमानस्थल सञ्चालनमा आउने गरेको थियो । केही दिनदेखि नियमित उडान प्रभावित बनिरहेको छ । मौसम प्रतिकूलताका कारण उडान रद्ध हुँदा यात्रुहरु मारमा पर्ने गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चिसोबाट प्रभावित समुदायलाई सहयोग गर्न विभिन्न संघ संस्थासँग समन्वय भइरहेको बताए । ‘चिसोबाट प्रभावित बनेका सर्वसाधारणलाई दाउरा, न्यानो कपडा र आवश्यक राहत सामग्री उपलब्ध गराइने छ,’ उनले भने, ‘आवश्यकता अनुसार स्थानीय तह तथा विभिन्न संस्थासँग समन्वय हुन्छ ।’

प्रजिअ यादवले सर्वसाधारणलाई चिसोबाट बचाउने उपाय अवलम्बन गरिएको बताए । आगो बाल्नलाई दाउराको थप व्यवस्था मिलाउन स्थानीय तहका तर्फबाट वन कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ । चिसो प्रभावितको विवरण संकलन गरेर उनीहरुलाई सुरक्षित राख्न र जाडोका समयमा हुने मानवीय क्षति रोक्न सक्रियता बढाइएको जानकारी यादवले दिए ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.