
विराटनगर । भारत महाराष्ट्रको जलगाउँमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ । तीमध्ये ४ जना नेपाली नागरिकको पहिचान भइसकेको छ ।
मृतकहरूमध्ये हालसम्म १२ जनाको मात्रै पहिचान खुलेको छ । ७ जनाको पहिचान हुन सकेको छैन । भारतीय प्रहरीले मृतकका आफन्तसँग सम्पर्क गरिरहेको छ । पहिचान नखुलेकाको सनाखतको प्रयास पनि गरिरहेको छ । सनाखत भएकामध्ये ४ जना नेपाली नागरिक र अरु भारतीय नागरिक रहेका हुन् ।
रेलमा आगो लागेको हल्ला फैलिएपछि बुधबार साँझ ५ बजेतिर यात्रुबीच भागदौड मच्चिएको थियो । त्यसक्रममा अर्को लिकबाट आइरहेको रेलले किचेर यात्रुहरुको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हतारिएर यात्रीहरू झ्यालबाट हाम फालेका थिए ।
अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो । ४० जनाभन्दा बढी घाइते भए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
सनाखत भएका मृतकहरु ४२ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, ११ वर्षका हिमु नन्दराम विश्वकर्मा र ८० वर्षीया जयकला बडे जयकाडी नेपाली नागरिक रहेको भारतीय प्रहरीले जनाएको छ । मृतम ४ जना नेपालीमध्ये ३ जना उत्तर प्रदेशमा बस्दै आएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

























