विराटनगरमा पानी परेजस्तै शीतलहर

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार १९:३३

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार बिहानका रातिदेखि पानी परेजस्तै देखिने गरी शीतलहर चलेको छ ।

त्यो क्रम दिउँसो करिब ३ बजेसम्म चल्यो । त्यसपछि रोकियो । फेरि रातिदेखि शीतलहर चल्नसक्ने मौसमविद्हरु बताउँछन् । कतिपयले हल्का वर्षा भएको अनुमान लगाए । तर, वर्षा नभएर शीतलहर चलेको मौसमविद्को भनाइ छ ।

विराटनगर महानगरपालिका–५ जामुनगाछीका सत्यनारायण उराउ मोटरसाइकलमा बरगाछीसम्म पुग्दा बाहिरी कपडा एकसरो भिजिसकेको बताउँछन् । ‘करिब डेढ किलोमिटरजति मोटरसाइकल चलाएँ होला । बाहिरका कपडा भिजिसकेको पत्तै भएन । मलाई त पानी परेजस्तै लाग्यो,’ उनले भने ।

सत्यनारायणले भनेजस्तै शीतलहर चलिरहँदा धेरैले पानी परेको अनुमान गरेका थिए । मोटरसाइकल, साइकल र पैदलयात्रीहरु पानी परेर भिजेजस्तै देखिन्थे । विराटनगरलगायत आसपासका स्थानमा लामो समयदेखि वर्षा हुन सकिरहेको छैन । दुई दिनयता शीतलहर चलिरहेको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका नायव मौसम विज्ञान सहायक अमूल्य कर्माचार्यका अनुसार शुक्रबार वर्षा भएको रेकर्ड छैन । ‘यो शीतलहर नै चलेको हो । वर्षा भएको छैन । बरु चिसो चैं धेरै बढेको महसुस भएको छ,’ उनले भने ।

यसवर्ष विराटनगरमा माघको पहिलो साता कटेपछि शीतलहर सुरु भएको छ । जसले गर्दा जनजीवन प्रभावित बनेको छ । यसअघिका वर्षहरुमा पुस तेस्रो सातातिरै तराईमा शीतलहर चल्थ्यो । मौसमविद्हरु विगतभन्दा यसवर्ष ढिलो गरी शीतलहर सुरु भएको बताउँछन् ।

विराटनगरलगायत विभिन्न स्थानमा बिहीबार र शुक्रबार बिहानैदेखि राम्रैसँग शीतलहर चलेको थियो । सडकलगायतका स्थान पानी नै परेर भिजेजस्तो देखिन्थे । केही दिनदेखि हुस्सु लागेर आकाश धुम्म भएका कारण घाम देख्न पाइएको छैन । आकाश खुल्न नसक्दा चिसो बढेको महसुस भएको छ ।

निरन्तर हुस्सु लागेर घाम नलागेका बेला शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित बनेको हो । चिसोले  सर्वसाधारण समस्यामा पर्न थालेका छन् । घाम नलागेकाले मौसम चिसिदै गएर ठिही बढेको हो । मौसममा सुधार हुन समय लाग्नसक्ने मौमसविद्हरू बताउँछन् ।

नायव मौसम विज्ञान सहायक कर्माचार्यले बढ्दो ठिहीले जनजीवनलाई असर गरिरहेको बताए । उनका अनुसार शुक्रबार विराटनगरको न्यूनतम तापक्रम १३.९ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार १३.२ डिग्री सेल्सियस थियो ।

‘अघिल्लो दिनको तुलनामा तापक्रम केही बढ्यो । तर, निक्कै दिनदेखि घाम नलागेका कारण अलि बढी नै चिसो महसुस भएको छ,’ कर्माचार्य भन्छन् । यसवर्षको सबैभन्दा कम तापक्रम गत आइतबार ८.६ डिग्री मापन गरिएको जानकारी उनले दिए ।

पश्चिमी न्यून चापीय प्रणालीको असरका कारण शीतलहर चल्ने तथा आकाशमा बादल लाग्ने क्रम एकैपटक हुँदा धेरै चिसो महसुस भएको उनको भनाइ छ । ‘प्रतिकूल मौसमका कारण चिसो बढेको हो,’ उनी भन्छन्, ‘सुरक्षित हुनका लागि सचेत भएर सावधानी अपनाउनुपर्छ ।’ चिसोमा ज्यान बचाउने उपायको खोजी उत्तम विकल्प हुने कर्माचार्य बताउँछन् ।

चिसो बढेसँगै सार्वजनिक स्थल, सरकारी कार्यालय, सडक तथा विभिन्न ठाउँमा सर्वसाधारणको चहलपहल कम हुँदै गइरहेको छ । जाडो बढ्दा पारिवारिक आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने अवस्थाका तथा वासस्थानको उचित व्यवस्था नभएकाहरू, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी, बालबालिकालगायत समस्यामा परेका छन् ।

शीतलहरका कारण सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम बढेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । चालकहरुलाई सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्न आग्रह गरिएको उनको भनाइ छ ।

दैनिक व्यस्त रहने विराटनगर विमानस्थलमा मौसममा आएको खराबीले ‘भिजिविलिटी’ कम हुँदा जहाजको उडान र अवतरणमा समस्या भइरहेको छ । बेलाबेला उडान नै अवरुद्ध हुने गरेको हो । गत बुधबार सबै उडान रद्ध भए ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.