
काठमाडौं । देशका उच्च पहाडी र हिमाली क्षेत्रमा आज (शनिबार) हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वनुमान छ । राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम प्रतिकूलताका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने अनुमान गरिएको छ ।

























