यस्तो छ पाथीभरा केबलकार विवादको नालीबेली

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार २०:५१

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको विवाद शनिबार साँझबाट चर्चामा छ ।

फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा प्रहरी र केबलकार निर्माणको विपक्षमा रहेको समूहबीच दोहोरो झडप भयो । झडपमा २६ जना घाइते भए । जसमा प्रहरीले चलाएको गोली दुई जनालाई लाग्यो । घाइते हुनेमा २१ जना सुरक्षाकर्मी छन् । यो घटनापछि केबलकार निर्माणको विवाद चर्किएको छ ।

Advertisement

पाथीभरामा केबलकार निर्माण सुरु भएपछि आइतबारबाट सशक्त प्रदर्शनको तयारीमा पहिचान पक्षधर थियो । आन्दोलन रोक्नका लागि प्रहरीले बल प्रयोग गर्नुपर्ने स्थिति आयो । घटनापछि केबलकार निर्माणको विषय राष्ट्रिय चर्चामा छ । केबलकार बनाउनुपर्छ र बनाउन हुँदैन भन्ने पक्षमा नागरिक विभाजित छन् । विपक्षमा उभिएको समूहले पहिचानको मुद्दा उठाएको छ । पक्षमा उभिएको समूहले सहजताका लागि बन्नुपर्ने दाबी गर्छ ।

विपक्षमा रहेको समूहले केबलकार सुरु गर्दा पूजाको विधि मासिने दाबी गर्छ । माथ्लो फेदीमा रहेको कान्छीथानबाट धागो बाँधेर पाथीभरा पुग्ने परम्परा छ । केबलकार निर्माण भए यो परम्परा मेटिने दाबी विपक्षमा उभिएको समूहको छ । केबलकारको विपक्षमा रहेको समूह पहिचानवादी हुन्, तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखेपछि पहिचानवादी मोर्चाले आन्दोलन गरेको थियो । यो आन्दोलन सफल नभएपछि पछिल्लो समय पहिचानवादी मोर्चा पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केन्द्रीत छ ।

मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्दा किराँत समुदायको मुन्धुमी संस्कृति मेटिने आन्दोलनरत किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो बताउँछिन् । मुन्धुमी संस्कृतिलाई जोगाउनका लागि पाथीभरा (मुकुम्लुङ)लाई प्राकृतिक अवस्थामै छाड्नुपर्ने माग उनको छ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा रहेको सुकेटार विमानस्थलसम्मको बाटो राम्रो छ । सुकेटार विमास्थलबाट पाथीभरा पुग्ने तल्लो फेदी (जहाँ केबलकारको पहिलो स्टेसन बन्छ)सम्म पुग्ने बाटो भद्रगोल छ । वर्षाैसम्म बाटो नबनेका कारण तीर्थयात्रीले सास्ती भोग्नुपर्छ । केबलकार निर्माणको साटो तल्लोफेदीसम्म पुग्ने बाटो चाँडो निर्माण गर्नुपर्ने माग पहिचान पक्षधरको छ ।

पाथीभरामा केबलकार निर्माणको पक्षमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन पनि छन् । उनी केबलकार बनाउन नसके राजनीति छाड्ने दाबी गर्छन् । ‘मैले यदि बनाउन सकिन भने राजनीति नै छाडिदिन्छु,’ केही दिनअघि मादेनले सार्वजनिक रुपमा भनेका थिए, ‘केबलकार बनाउन सकिन, मैले कम्पनीलाई साथ दिन सकिन अर्थात ‘कन्ट्याकवाला’लाई साथ दिन सकिन भने राजनीतिबाट सन्यास लिन्छु ।’ पाथीभरामा केबलकार निर्माणको पक्षमा ठूलो समूह छ ।

तीन दशक पुरानो योजना

पाथभीराको केबलकार निर्माणले पछिल्लो समय गति लिए पनि चर्चा भने पुरानै हो । २०५१–०५२ सालबाट केबलकार निर्माणको चर्चा थियो । त्यसबेला ध्रुवनारायण श्रेष्ठले केबलकार निर्माणको अगुवाइ गरेका थिए । उनी विराटनगरका पूर्वमेयर हुन् । २०४३ सालको निर्वाचिनमा जनपक्षीय उम्मेदवार थिए ।

श्रेष्ठकै अगुवाइमा २०७२ सालका पाथीभरा देवी दर्शन केबलकार प्रा.लि दर्ता भएको थियो । उनीपछि यो कम्पनीमा ईश्वरी पौडेलसहितको टोलीले काम गर्ने तयारी गर्याे । तर, सकेन । त्यसपछि यति एयरल्यान्सका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पाको ‘इन्ट्री’ भयो । शेर्पाको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनाम शेर्पासँग यो कम्पनीको अधिकतम सेयर थियो । शेर्पाले आईएमई ग्रुपका मालिक चन्द्र ढकाललाई सेयर बेचेर बाहिरिएका थिए ।

३ दशकअघिदेखि चर्चा भएको केबलकारमा चन्द्र ढकालको ‘इन्ट्री’पछि तीव्र गतिमा काम अघि बढेको छ । यो केबलकारको प्रवेश बिन्दु २९ रोपनी निजी जग्गामा पर्छ । २.७५ किलोमिटर केबलकारको बाँकी जग्गा वन क्षेत्रको हो । वन क्षेत्रमा पर्ने ४.९७ हेक्टर जमिनमा रहेका २ हजार १ सय १४ वटा रुख काटिएको छ । राज्यबाट अनुमति पाएपछि निर्माण कम्पनीले शिलान्यास गरेर काम सुरु गरेको छ ।

केबलकारको परिकल्पनाकार ध्रुवनारायण श्रेष्ठका अनुसार केबलकार बनाउनका लागि भन्दै सोनाम वाङ्गे पनि अमेरिकाबाट आएका थिए । तर, सकेनन् । उनका अनुसार पाथीभरा केबलकार निर्माणमा लागेका ३ जना व्यक्ति मृत्यु भइसकेको छ । आङ्छिरिङ, वाङ्गे र पुष्पबहादुर बरुवालको मृत्यु भएको उनको भनाइ छ ।

केबलकारको पहिलो ‘स्टेसन’को जग्गा श्रेष्ठले नै कम्पनीलाई बिक्री गरेका थिए । मालपोत कार्यालय ताप्लेजुङको अभिलेख अनुसार पाथीभरा देवी दर्शन केबलकार प्रा.लि २९ रोपनी जग्गा पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले बिक्री गरेका थिए । ९० हजार रोपनीमा पनि बिक्री नहुने सो जग्गा २०७७ अन्तिममा २६ करोड १० लाख रुपैयाँमा बिक्री भएको थियो । यो जग्गा खरिद बिक्री गर्दा मालपोत कार्यालयमा पुँजीगत लाभकर १ करोड ३० लाख ३७ हजार र रजिष्टे«सन दस्तुर १ करोड ४ लाख ४० हजार रुपैयाँ बुझाइएको थियो ।

जग्गा बिक्रीका लागि आफूले पुष्पबहादुर बरुवाललाई वारेस दिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय चन्द्र ढकालको समूहले स्थानीयसँग छलफल नगरी काम अघि बढाएका कारण विवाद बढेको उनको भनाइ छ ।

नामसँग जोडिएको मुकुम्लुङ आन्दोलन

पहिचानको आन्दोलनका कारण पहिलो प्रदेशसभाले १ नम्बर प्रदेशको नाम राख्न सकेन । दोस्रो प्रदेशसभाको २०७९ फागुन १७ गतेको बैठकले कोशी नाम राख्यो । पर्याप्त छलफल बिना नाम राखेपछि पहिचान पक्षधरले विरोध गरे ।

कोशी नामको पक्षमा मतदान गरेको नेकपा (माओवादी केन्द्र) पहिचानवादीको विरोधपछि आत्मालोचनासहित पुनः पहिचानकै आधारमा नाम राख्नुपर्ने पक्षमा आयो । पहिचानवादी दल र जातीय संगठनले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरे ।

आन्दोलनका क्रममा २०७९ चैत ५ गते घाइते भएका पदम लिम्बू लाजेहाङको चैत १० गते उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि पहिचान आन्दोलन उत्कर्षमा पुग्यो । सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि पहिचानवादी आन्दोलन सेलायो । आन्दोलन कमजोर भएपछि पहिचान पक्षधरले ‘फेस सेभिङ’को रूपमा सरकारसँग २०८० माघ १६ गते पाँच बुँदे सहमति गरेको थियो । गत मंसिरमा पुनः आन्दोलन घोषणा गर्यो ।

राजधानी विराटनगरमा आन्दोलन चलिरहँदा ताप्लेजुङमा चन्द्र ढकालको समूहले केबलकार निर्माणका लागि काम सुरु गरेको थियो । नामांकनको आन्दोलन कमजोर भएपछि पहिचानवादी मोर्चा पाथीभरा क्षेत्रमा केन्द्रीत भयो ।

केबलकार निर्माण गर्दा मौलिकता र परम्परा मेटिने भन्दै युवाहरुको टोली नै बनाएर गस्ती खटाउन थाल्यो । पहिचानको आन्दोलनको नाममा पाथीभरा लेख्न नहुने र मुकुम्लुङ मात्रै लेख्नुपर्ने आवाज पनि उठ्यो । केबलकारको विरोधका लागि बलुडाँडामा पहिचान पक्षधरको ‘सेल्टर’ छ । त्यहाँ बसेर युवाहरुले केबलकारका लागि आउनेहरुलाई अवरोध गरे ।

‘सेल्टर’मा पहिचानवादी मोर्चाले मोर्चासँग जोडिएका अन्य क्षेत्र र जिल्लाका युवाहरुलाई पालैपालो खटाउँछ । जसको पुष्टि शनिबारको घटनाले पनि गर्छ । घटनाका गम्भीर घाइते ३ जना स्थानीय होइनन्, पहिचानवादी मोर्चाले आन्दोलनका लागि सो क्षेत्रमा लगेका हुन् । ‘दुई तिर आन्दोलन गर्दा निष्कर्ष निस्कन नसक्ने र व्यवस्थापन पनि जटिल भएकाले एकैतिर केन्द्रीत भएर (मुकुम्लुङ) मा लागेका छौं,’ पहिचान पक्षका एक नेताले भने, ‘प्रदेश नामकरणको विषयमा हाम्रो संघर्ष जारी छ ।’

पहिचानवादी मोर्चाले मुकुम्लुङ आन्दोलनलाई प्रदेशको नामसँग पनि जोडेको छ । यो आन्दोलन सफल भए प्रदेश नामांकनको आन्दोलनलाई बल पुग्ने उनीहरुको बुझाइ छ । आन्दोलनरत मोर्चाका नेता तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन नामांकन र मुकुम्लुङको आन्दोलन फरक भएको बताउँछन् ।

‘मुकुम्लुङ बचाउ आन्दोलन हाम्रो पहिचान र संस्कृति रक्षासँग जोडिएको छ,’ उनी भन्छन्,‘ नाम समग्र प्रदेशको आन्दोलन हो । यो (मुकुम्लुङ) प्रदेशभित्रको एउटा सामाजिक संस्कृतिक र ऐतिहासिक क्षेत्रसँग जोडिएको आन्दोलन हो ।’ मुकुम्लुङको ‘नो केबलरकार’ आन्दोलन सफल भएपछि प्रदेशको आन्दोलनलाई सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

येक्तेनले मुकुम्लुङ क्षेत्रको समस्या समाधानको एकमात्र सर्त केबलकार निर्माणको निर्णय खारेजी भएको बताए । केबलकार निर्माणको निर्णय खारेजीको मागसहित मोर्चाले ताप्लेजुङ बन्द आह्वान गरेको छ । बन्द फिर्ताका लागि पनि निर्माणको निर्णय खारेज हुनुपर्ने येक्तेनले बताए ।

कस्तो बन्छ केबलरकार ?

पाथीभरा दर्शन गरेर फर्कन १ दिन पैदल यात्रा गर्नुपर्छ । केबलकार निर्माण भए १ दिनको बाटो १० मिनेटमा छोटिने छ । प्रस्तावित केबलकारले प्रतिघण्टा १ हजार जना तीर्थयात्री बोक्न सक्छ । केबलकार निर्माणका लागि ३ अर्ब लागत अनुमान छ । काम सुरु भए डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

फुङलिङ नगरपालिका–११ मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिरपरिसर भन्दा करिब ७ सय मिटर तलसम्म केबलकार निर्माण हुनेछ । केबलकारको दुरी २.७५ किलोमिटर हुनेछ । केबलकारमा १३ वटा खम्बा (टावर)मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) राख्ने प्रस्ताव छ ।

निर्माणपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्न पाउँछन् । निर्माण कम्पनीले ताप्लेजुङको फेदीमा रिसोर्ट सञ्चालन गर्ने छैन । तर, प्रस्थान बिन्दुमा भने रिसोर्ट रहनेछ ।

पाथीभरामा दर्शनका लागि वार्षिक ५ लाख हाराहारी पर्यटक पुग्छन् । केबलकार निर्माण भएपछि यो संख्या दोब्बर हुने निर्माण पक्षको दाबी छ । केबलकारमा स्थानीयलाई राजेगारी दिने कम्पनीको योजना छ । केवलकार बनेपछि ताप्लेजुङको फुङलिङ मात्रै होइन, पाँचथरको फिदिमसम्मको व्यापार फस्टाउने निर्माण पक्षको दाबी छ ।

clockप्रकाशित मिति:  २०८१ माघ १६, बुधबार २०:५१
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.