
काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कानुन व्यावसयीको गठबन्धन बनेको छ । अन्य साना पाँच दल निकटलाई जाेडेर वृहत् प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन बनेको हो ।
बिहीबार बनेकाे गठबन्धनको सहमति पत्रमा एमालेनिकट पिपिएलएका अध्यक्ष भोजराज आचार्य, माओवादीनिकट आरपिएलएका अध्यक्ष रमणकुमार श्रेष्ठ,विप्लव नेतृत्वको नेकपानिकट पिएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल, मोहन वैद्यनिकट एनपिएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले हस्ताक्षर गरेका छन् ।
गठबन्धनबीच एक सातापछि हुने बार काउन्सिल निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारलाई जिताउने सहमति छ ।
फागुन २३ मा हुने नेपाल बारको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने पनि सहमति भएको छ । बार काउन्सिलमा सातमध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार छन् । यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ ।
नेकपा एसनिकट एसपीएलएले बार काउन्सिल निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको छ । नेपालमा बारको निर्वाचनमा पनि कांग्रेससँग मिलेर चुनाव लड्ने तयारी छ ।
नेपाल बारको अध्यक्षमा पिपिएलएबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र आरपीएलएबाट रमण श्रेष्ठ दाबेदार छन् ।


























