
विराटनगर । कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो शनिबारदेखि विराटनगरमा हुने भएको छ ।
कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले विराटनगर–९ स्थित पुरानो गुद्री बजारमा शनिबार र आइतबार गरी दुई दिनसम्म प्रतियोगिता हुन लागेको बताए ।
उनले खेलाडीहरु नियमित अभ्यास गरे पनि प्रतियोगिता खेल्न नपाउँदा उनीहरूमा भएको प्रतिभा नदेखिने भएकाले पनि यस्ता प्रकारका प्रतियोगिता नियमित हुन जरुरी रहेको प्रस्ट पारे ।
खेलाडी जति प्रतियोगिताहरू खेल्छन्, त्यत्ति नै उनीहरूमा निखारपन आउँछ । पछिल्लो समय कोशी खेलकुद विकास बोर्डले तेक्वान्दोसहित अन्य खेलका प्रतियोगिता गर्न थालेको कार्कीले बताए ।
अध्यक्ष कार्कीले भने, ‘खेल र खेलाडीको विकासका लागि तीन तहका सरकारबीच समन्वय हुन जरुरी रहेको छ । अझ पनि खेलकुद क्षेत्रमा पर्याप्त बजेट सरकारले नदिँदा खेल र खेलाडीको विकास भने जस्तो हुन सकेको छैन ।’
प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुर र आयोजक टिमसहित ९ वाट टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा एकल पुरुष र महिला स्पायरिङ तथा एकल पुरुष र महिला प्याटनमा विभिन्न उमेर समूह र बेल्टका १ सय १७ जना खेलाडीसहित प्रशिक्षक र टिम व्यवस्थापन गरी १ सय ३५ जनाको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले गर्ने छन् ।



















