
विराटनगर । मुक्कुम्लुङ क्षेत्र संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिका नाममा बन्द गराउँदै हिँड्ने १० जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी दीपक पोखरेलका अनुसार सुनसरीको धरानबाट ६ र झापाको दमकबाट ४ जनालाई पक्राउ गरिएको हो । बन्द गराउँदै हिँड्ने, सवारीसाधनलाई अवरोध गर्ने तथा अराजक गतिविधि गर्नेहरुलाई पक्राउ गरिएको उनले बताए ।
पोखरेलका अनुसार पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ । संघर्ष समिमितले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको छ । केबलकार निर्माणको विरोधमा आज (आइतबार) र भोलि (सोमबार) २ दिन अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको छ ।
गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द छ । बन्दका कारण जनजीवन अत्यन्त कष्टकर बनिरहेको छ । सर्वसाधारणले धेरै दुःख पाइरहेका छन् । आन्दोलनका नाममा यातायात बन्द गरेर सर्वसाधारणलाई पीडा दिने काम भएको गुनासो सर्वत्र छ ।
ताप्लेजुङमा बन्दको प्रभाव धेरै परेको छ । अन्य जिल्लामा सामान्य प्रभाव छ । राजमार्ग तथा भित्री सडकखण्डमा सवारीसाधन चलिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बन्दलाई मध्यनजर गरेर ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा निकायले बन्दकर्ताको हर्कत निगरानी गरिरहेका छन् ।
समितिले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ला बन्दको आह्वान गरेको हो । तराईमा भन्दा पहाडी जिल्लामा बन्दको अलि बढी प्रभाव परेको छ ।
पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएको मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । घटनामा २१ सुरक्षाकर्मी र ५ जना आन्दोलनकारीसहित २६ जना घाइते भएका हुन् ।
उक्त घटनापछि संघर्ष समितिले बन्द र हड्ताल गरिरहेको छ । केबलरकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने, ताप्लेजुङको काफ्लेपाटीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायतका माग राख्दै संघर्ष समिति आन्दोलित बनेको हो ।

























