
धरान । इटहरीविरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भुटान प्रिमियर लिग खेल्ने टोली रोयल थिम्पुले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।
भुटानले खेलको ७ औं मिनेटमै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
दोस्रो हाफको ७ औं मिनेटमा सोनाम जुग्द्रुलले गोल गरे । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाए ।
दोस्रो हाफकै १४ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पुर्याए । कर्माले प्रहार गरेको बल इटहरीका गोलकिपर सन्दीप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो ।
दोस्रो हाफको २५ औं मिनेटमा सोनाम योसेको पासमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे । खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसेले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
३ विदेशी खेलाडीसहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारीरिक रुपमा बलियो देखिन्थ्यो । मैदानमा भुटानका युवा खेलाडी इटहरीभन्दा टेक्निकल्ली राम्रो खेल प्रदर्शन गरे ।
दोस्रो हाफको ३२ औं मिनेटमा इटहरीका आलेक्सले सान्त्वना गोल फर्काए । उनले विपक्षी गोलकिपरलाई फ्लीक गर्दै गोल गरे । मंगलबारको अन्तिम क्वाटरफाइनल खेल साबिकको विजेता काठमाडौंको न्यूरोड टिम (एनआरटी) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ ।



















