काठमाडौं । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गर्दै छन् ।
फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङ्देम्बेले महिला २ सय / ४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन् ।
यस्तै, प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने बताइएको छ ।
टिम व्यवस्थापकमा साङ्बु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।
टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एशोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ शिवाकोटीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।