धरान । साबिक विजेता न्यूरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काँकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काए ।
एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्ने छ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच हुँदै १० हजार प्राप्त गरे ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको केएफटिसीले दोस्रोे हाफको सुरुमा नै गोल खान पुग्यो । खेलको ४८ औं मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गरे । सुजन लिम्बूले मिलाइदिएको क्रस पासलाई उत्कृष्ट ढंगबाट लेखीले बललाई जाली चुमाएका थिए ।
६० औं मिनेटमा एनआरटीका क्याप्टेन सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाए । शिशिर लेखीले प्रहार गरेको बल केएफटिसीका गोलकिपर अभिषेक बरालले रोकेका थिए ।
रिबाउण्ड भएको बललाई सुमित श्रेष्ठले मिलाइदिएको पासमा घिसिङले गोल गरे । लगत्तै केएफटिसीले गोल अन्तर घटाएको थियो । ६२ औं मिनेटमा खामिर लिम्बूले मिलाइदिएको पासलाई रोबर्ट खोन्जाउले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।
अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका रोहन खड्गीले गोल गर्दै एनआरटीको जित निश्चित गरेका थिए । ७९ औं मिनेटमा सुमित श्रेष्ठले मिलाइ दिएको ब्याकक्रसलाई सुन्दर ढंगले खड्गीले गोल गरे ।
पहिलो हाफमा अग्रता बनाउन केएफटिसी चुकेको थियो । १६ औं मिनेटमा रोबर्ट खोन्जाउले वान भर्सेज वानको स्थितिमा गोल गर्न चुके । ४९ औं मिनेटमा केएफटिसीका मौसम लिम्बूले डिबक्सभित्रबाट गोल गर्न सकेनन् ।
उनले प्रहार गरेको सशक्त बल एनआरटीका गोलकिपरले मुस्किलले रोकेका थिए । पेनाल्टी पोइन्ट नजिकै अनमार्क रहेका केएफटिसीका आशिष चापागाईंले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल आकासिएको थियो ।
एनआरटीले पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो खेलेको थियो । खेलको अन्तिममा एनआरटीका शिशिर लेखी वान भर्सेज वानमा गोल गर्न चुकेका थिए ।
प्रतियोगिताको बुधबार पहिलो सेमिफाइनल खेल भुटानको रोयल थिम्पु कलेज र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुनेछ ।