दोस्रो विश्वविद्यालय खेलकुदको तयारी पूरा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार १८:४४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसुदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

Advertisement

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीभित्र रहेको खेल प्रतिभाको प्रस्फुटन गराउने तथा खेलाडीहरूलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यसहित राखेपले गत वर्षबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालेको हो ।

गण्डकी विश्वविद्यालयको सहआयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । 

विभिन्न ९ विश्वविद्यालयको सहभागिता रहने प्रतियोगितामा जम्मा १९ स्वर्णका लागि भिडन्त हुनेछ । एथलेटिक्सको पुरुष / महिलामा समान ५–५ गरी १० स्पर्धामा खेल हुनेछ । 

ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष / महिला सिंगल्स र डबल्समा खेल हुनेछ । भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ ।

प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी हुने छन् ।

सहभागी हुने विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय रहेका छन् ।

२ दिने प्रतियोगिताका सम्पूर्ण खेलहरू पोखरा रंगशाला हातामा हुनेछ ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार १८:४४
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.