विराटनगर । सरकार र ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा केबलकार विरोधी पक्षबीच ६ बुँदे सहमति भएको छ ।
मंगलबार अबेरसम्म बसेकाे वार्तामा ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयमा उत्पन्न विवाद समाधानका लागि पुन छलफल गर्ने गरी ६ बुँदे महत्त्वपूर्ण सहमति भएको हाे ।
तत्काल पाथीभरा केवलकार स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र आन्दोलनरत पक्षको यातायात बन्द पनि फिर्ता गर्ने सहमति भएको छ ।
थप विषयमा आगामी माघ २७ गते विस्तृत छलफल गर्ने सहमति छ ।
यस्ता छन् सहमतिका बुँदा
१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने ।
२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ः०० बजे वार्तामा बस्ने ।