
काठमाडौं । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । न्यून चापीय प्रणालीको असरले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । अरु प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशमा आज (बुधबार) आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती प्रदेशको पनि केही स्थानमा हल्का हिमपातको सम्भावना छ । अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकीको पनि केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कर्णाली प्रदेशका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । हिमपातको सम्भावना रहेका स्थानमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ ।

























