
धरान । धरानमा जारी २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा काठमाडौंको चर्च ब्वाइज युनाइटेड क्लब पुगेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार (आज) भएको खेलमा चर्च ब्वाइजले भुटानको रोयल थिम्पु कलेज (आरटीसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगको हो ।
चर्च ब्वाइजका समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औं मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
त्यस्तै, अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल गरे ।
चर्च ब्वाइजले सुरुवातदेखि नै आरटीसीलाई दबाबमा राखेको थियो । खेलको २१ औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
आरटीसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन । १९ औं मिनेटमा आरटीसीका नियन्दा योसेल वान भर्सेस वानमा गोल गर्न चुके । उनले गोल किपरलाई बिट गर्न खोज्दा असफल भए ।
त्यस पश्चात आरटीसीले खेलमा त्यत्ति राम्रो अवसर सिर्जना गर्न सकेन । आरटीसीले पहिलो खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उच्च मनोबलका साथ चर्च ब्वाइजविरुद्ध मैदानमा उत्रिएको थियो ।
चर्च ब्वाइज भने नेपाल पुलिस क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समिर तामाङले नगद १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको बिहीबारको खेल काठमाडौंको एनआरटी क्लब र भारतको युकेएफसीबीच हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।



















