
काठमाडौं । सहकारी ठगी मुद्दामा जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र बिहीबारको थुनछेक बहस भएको थियो ।
बहसपछि अदालतले ५४ लाखमा धरौटीमा छाड्ने आदेश दिएको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे ।
जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डाक्टर सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ता रामाचन्द्र देवकोटा र डा नारायणदत्त कंडेलले बहस गरेका थिए ।

























