
विराटनगर । झापाको बिर्तामोड नगरपालिका–४ को एउटा होटलमा बसेका युवकको मृत्यु भएको छ । युवकसँगै बसेकी उनकी प्रेमिका र होटल सञ्चालक महिलालाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
होटलमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार बेस्रा एभरेष्ट होटलमा आफ्नी प्रेमिका सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भइ झापको कनकाई नगरपालिका–७ दुर्गापुरमा बस्दै आएकी २३ वर्षीया मुना विकसँग बसेका थिए ।
खाना खाएर होटलमा सुतेका बेस्राको मृत्यु भएको प्रहरीले जनाएको छ । होटलको कोठाभित्र बाथरुमको ढोका छेउमा लडेर बेहोस भएको भन्दै उनलाई प्रेमिका मुना र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीले उपचारका लागि बिर्तासीटी अस्पताल लगेका थिए ।
चिकित्सकले शुक्रबार बिहानका राति १ः३५ बजेतिर बेस्रालाई मृत घोषणा गरेको डीएसपी चन्दले बताए । उनका अनुसार बेस्राको मृत्युको कारण खुल्न सकेको छैन ।
उनकी प्रेमिका र होटल सञ्चालक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी चन्दले बताए ।

























