
काठमाडौं । त्रिदेशीय महिला टी २० क्रिकेट शृङ्खलाको उपाधि थाइल्याण्डले जितेको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्रै बनाउन सफल भयो ।
सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरी ११ र क्याप्टेन इन्दु बर्माले १० रन जोडे । बलिङमा थाइल्याण्डका लागि ओनिचा काम्चोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १–१ विकेट लिइन् ।
८२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । क्याप्टेन नारुमोल चाइवाइले नटआउट २७ र नान्नापत खोन्चरोएन्कले २३ रनको योगदान गरे । बलिङमा नेपालकी इन्दु बर्माले २ र पूजा महतोले १ विकेट लिए
नेपाल, थाइल्याण्ड र नेदरल्यान्ड्बीच त्रिदेशीय प्रतियोगिता भएको थियो । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो ।
उसले नेदरल्यान्ड्ससँगको १ खेलमा पराजय भोगेको थियो । नेदरल्यान्ड्स ८ अंकमा दोस्रो स्थानमा रह्यो भने घरेलु टोली नेपाल अंकविहीन भयो । नेपालले सबै ६ खेलमा हार भोग्यो ।
नेपाली महिला टोलीकी अलराउण्डर पूजा महतोले स्कुटर जितेकी छिन् । पूजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाउनुका साथै ३ विकेट लिइन् ।
सिरिजको सर्वोत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिप्चा पुत्थावोंग भइन् । उनले सिरिजका ६ खेलमा १६ विकेट लिएकी थिइन् ।



















