
काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगोले करिब ५० लाख बराबरको क्षति भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो । आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत जलेर ध्वस्त भएका छन् ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीको कारण यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । कोठाभित्रका कागजात पनि जलेका छन् । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत छ ।

























