
विराटनगर । मोरङको उर्लाबारीमा सोमबार १ जना किशोर मृत फेला परेका छन् । पैनीमा डुबिरहेको अवस्थामा उर्लाबारी नगरपालिका–२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो ।
घरदेखि करिब १५ मिटर टाढा रहेको पैनीको पानीमा डुबिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । किशोरको मृत्युको कारण खुल्न सकेको छैन । यद्यपि, उनी छारे रोगको पुरानै बिरामी रहेको जानकारी प्रहरीले पाएको छ ।
छारे रोगले चापेका बेला पानीमा डुबेको र निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । किशोर बिहान ७ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























