
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा सोमबार (आज) देखि उपकुलपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयालले प्रतियोगिताको उद्घाटन गर्दै विश्वविद्यालयले प्राविधिक विषयसँगै विद्यार्थीहरूमा खेलकुदमा पनि अभिरुची पैदा गराउनका लागि अन्तर संकायबीच ‘उपकुलपति कप’ प्रतियोगिता आयोजना गरेको बताए ।
उनले आगामी वर्षदेखि अन्तर प्रदेशका विश्वविद्यालयहरूबीच प्रतिस्पर्धा गराउने योजना रहेको बताएका हुन् ।
प्रतियोगिताका संयोजक महेश राईले ३ दिनसम्म हुने प्रतियोगितामा विश्वविद्यालयअन्तर्गतका विभिन्न संकायका ५ वटा टोलीले ७ वटा इभेन्टहरूमा खेल्ने जानकारी दिए ।
खेलाडीहरूले फुटबल, टेबलटेनिस, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस र डोरी तानका खेलमा प्रतिस्पर्धा गर्ने संयोजक राईले बताए ।
विश्वविद्यालयमा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, एप्लाइड एण्ड हेल्थ साइन्सतर्फ फार्मेसी, हस्पिटल म्यानेजमेन्ट र कानुनका विषयमा पढाइ हुँदै आएको छ ।



















