
विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत मोरङको रतुवामाई घर भएका १ जना बन्दीको मंगलबार मृत्यु भएको छ ।
मुद्दाको किनारा लाग्ने पर्खाइमा रहेर जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि किसुनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा मंगलबार दिउँसो १ः४५ बजेतिर मृत्यु भएको ढुंगेलले बताए । उनका अनुसार जबरजस्ती करणी मुद्दामा किसुनलाई जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएपछि कारागार चलान गरिएका उनको आफूविरुद्ध दर्ता भएको मुद्दाको फैसला नहुँदै मृत्यु भएको हो । मृतकको शव कोशी अस्पतालमै छ । परिवारका सदस्य सम्पर्कमा आएपछि जिम्मा लगाइने जेलर ढुंगेलले बताए ।
पुरुष २ सय ५० र महिला ५० गरेर ३ सय ५० जना क्षमताको मोरङ कारागारमा ३ गुणा बढी कैदीबन्दी राखिएको छ । कारागारमा हाल आश्रित बालबालिका ४, महिला ९७ र पुरुष ९ सय ८४ गरेर १ हजार ८५ जना रहेको जानकारी ढुंगेलले दिए ।

























