
काठमाडौं । देशमा आज (बुधबार) बिहानैदेखि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ ।
बिहानीपख तराईका केही भू–भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशमा आज दिउँसो आंशिक बदलीको सम्भावना छ । यी प्रदेशको हिमाली भू–भागको १–२ स्थानमा हिमपातको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने मधेस र लुम्बिनी प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

























