कोशी प्रदेश लिगः गाईघाट अन्तिम चारमा 

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार २०:३२

धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समूह ‘बी’ बाट समुह विजेता हुँदै उदयपुरको गाईघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा मोरङको सम्राट स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाट समूह विजेता बनेको हो । गाईघाटका लागि एकमात्र गोल प्रविन राईले गरे ।

खेलको म्यान अफ द म्याच गाईघाटका गोलकिपर अनिल मगरले नगद ५ हजार पुरस्कार पाए । 

गाईघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाईघाट ६ अंकसहित समूह विजेता हुँदा ३ अंक मात्रै भएको सम्राट भने प्रतियोगिताबाट बाहिरिएको छ । 

बुधबार नै समूह ‘डी’ अन्तर्गत भएको खेलमा प्रगतिशील युथ क्लब ताप्लेजुङलाई १–० ले पराजित गर्दै बुइपा–११ खोटाङ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

बुइपा–११ का लागि जीवन परियारले निर्णायक गोल गरे । बुइपाका गोलकिपर नवीन पोखरेल म्यान अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरे । 

यसअघि समुह ‘डी’ अन्तर्गत ताप्लेजुङको प्रगतिशील युथ क्लब र सुनसरीको धरान फुटबल क्लबबीच भएको खेलमा दुवै टिमले खेल नियम विपरीत खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेपछि दुवै टिमको अंक खोसिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । 

दुवै टिमको अंक खोसिएपछि बुइपा–११ समूहको शीर्ष स्थानमा छ भने दुवै खेलमा अंक बटुल्न नसकेको प्रगतिशील भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब बुइपा–११ ले धरान फुटबल क्लबसँग खेल्ने छ । बुइपा–११ ले धरान फुटबल क्लबसँग बराबरी खेले मात्रै पनि समूह विजेता बन्ने छ ।

तर, धरानले बुइपालाई कम्तिमा २ गोलको अन्तरमा पराजित गर्दा मात्रै समूह विजेता बन्ने छ । बिहीबार समूह ‘सी’ अन्तर्गत धनकुटाको देउराली युथ क्लब र इलामको रेडहर्ष क्लब खेल्ने छन् ।

त्यस्तै, समूह ‘ए’ अन्तर्गत संखुवासभाको लोहरुङ फुटबल क्लब र पाँचथरको पाँचथर युनाइटेड फुटबल क्लब खेल्ने छन् । समूह ‘ए’ मा २ टिम मात्रै रहेकोले यो खेल नै समूह विजेताको टुंगो लाग्ने छ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको छ ।

सहभागी क्लबलाई ४ समुहमा विभाजन गरिएको छ । समुह विजेताहरूले लिगको उपाधिका लागि खेल्ने छन् । 

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।

लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.