कोशी प्रदेश लिगको सुपर लिगमा पाँचथर, गाईघाट, देउराली र बुइपा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २, शुक्रबार २०:२०

धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग चरणको समीकरण पूरा भएको छ । 

कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबबीच भएको समूह चरणको लिगमा समूह विजेता टोलीहरू अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पाँचथर युनाइटेड, ‘बी’ बाट गाईघाट फुटबल क्लब, ‘सी’ बाट देउराली युथ क्लब र समूह ‘डी’ बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका हुन् ।

Advertisement

आइतबारदेखि सुपर लिगमा ४ टोलीले खेल्ने छन् । शुक्रबार भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समूह विजेता बन्यो ।

यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी ३ अंक बटुलेको थियो । कूल ४ अंक भएको बुइपा समूह विजेता हुँदा धरानको १ अंक र प्रगतिशीलले भने अंक जोड्न सकेन ।

बुइपाका लागि डिकेन राई र मिलन राईले गोल गरे । एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन राई म्यान अफ द म्याच हुँदै ५ हजार पुरस्कार प्राप्त गरे ।   

यसअघि धरान र प्रगतिशीलबीचको खेलमा दुवै टोलीले खेल नियम विपरीतका खेलाडी समावेश गरेपछि दुवै टोलीको अंक खोसिएको थियो । 

झापाको धाइजन चारआली फुटबल क्लबले पनि नियम विपरीतका खेलाडी समावेश गरेपछि कारबाहीमा परेको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गरे पनि धाइजन चारआलीको अंक खोसिएको थियो भने नियमानुसार देउरालीले ३ अंक प्राप्त गर्यो । 

देउरालीले बिहीबार भएको खेलमा इलामको रेडहर्ष क्लबलाई १–० ले हराएपछि ६ अंकका साथ समूह विजेता भएको थियो ।  यसअघि नै पाँचथर र गाईघाट समूह विजेता हुँदै सुपर लिगमा प्रवेश गरिसकेका थिए ।

यता समूह ‘सी’ अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

धाइजनका लागि सागर रसाइली र पुजन थापाले गोल गरे भने रेडहर्षका  लागि विनोद धमला र सांगे शेर्पाले गोल गरे । रेडहर्षका विनोद धमला म्यान अफ द म्याच हुँदै ५ हजार पुरस्कार प्राप्त गरे ।

लिगको विजेता र उपविजेता टोलीले राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।

लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.