
धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको समूह चरणको खेलहरू सकिए पश्चात सुपर लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।
शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै लिग आयोजक कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले खेल तालिका सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरुको सहभागिता रहेको लिगमा ४ समूह बनाएर समूह चरणको लिग गराइएको थियो ।
जस अनुसार समूह ‘ए’ बाट पाँचथरको पाँचथर युनाइटेड, ‘बी’ बाट उदयपुरको गाईघाट फुटबल क्लब, ‘सी’ बाट धनकुटाको देउराली युथ क्लब र ‘डी’ बाट खोटाङको बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन् ।
खेल तालिका अनुसार लिगको पहिलो खेलमा फागुन ४ गते बुइपा–११ र पाँचथर युनाइटेडबीच पहिलो तथा गाईघाट र देउरालीबीच दोस्रो खेल हुनेछ ।
त्यस्तै, ६ गते बुइपा र गाईघाट पहिलो खेल खेल्ने छन् भने दोस्रो खेल पाँचथर र देउरालीबीच हुनेछ ।
त्यसैगरी, फागुन ८ गते पहिलो खेल पाँचथर र गाईघाट तथा दोस्रो खेल बुइपा र देउरालीबीच हुनेछ ।
लिगका आधारमा हुने खेलमा लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।



















