विराटनगरमा सन्तनेताको नाम भजाएर कानुनविपरीत भवन बनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ४, आइतबार २०:००

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सन्तनेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम भजाएर कानुनविपरीत भवन निर्माण गर्ने काम भइरहेको छ ।

व्यक्तिको निजी जग्गामा सरकारकै लगानीबाट भवन निर्माण भइरहेको हो । विराटनगर महानगरपालिका– ४ इक्राहीमा निजी जग्गामा बनेको भवनलाई सरकारले साढे ३ करोड रूपैयाँ भुक्तानी गरेको छ । भट्टराईको स्मृतिमा निर्माणाधीन भवनका लागि ३ तहका सरकारको ३ करोड ४९ लाख ४६ हजार ५ सय ५१ रुपैयाँ खर्च भइसकेको पाइएको छ ।

Advertisement

राज्यले लगानी गर्नुअघि भवन निर्माणस्थल सम्बन्धित संस्थाकै नाममा हुनुपर्छ । भवनको नक्सा पास पनि हुनुपर्छ । तर, सन्तनेताको नाममा बनिरहेको भवन व्यक्तिको नामको जग्गामा छ । विराटनगर महानगरपालिकामा नक्सा पास नगरिकन भवन बनाउने काम भइरहेको छ ।

रिजाल थरका १ जना व्यक्तिको जग्गामा ७ तले भवन बन्दैछ । उक्त जग्गा बिक्रीका लागि राजेन्द्र खनालसहितले वारेस लिएका छन् । निर्माण भइरहेको भवनले करिब तीन कट्ठा निजी जग्गा ओगटेको छ ।

विराटनगर महानगरपालिकाको घर नक्सा शाखाका प्रमुख गोपाल पोखरेलका अनुसार कानुनत भवन निर्माण गर्नुअघि स्थानीय तहबाट नक्सा पास गर्नुपर्छ । तर, सो भवनको नक्सा पासका लागि निवेदन आएको छैन ।

भवन निर्माणका लागि ६ कट्टा जग्गा विराटनगर महानगरपालिकाले दिएको थियो । त्यसबाहेक ४२५ कित्ता नम्बरको ७ कट्ठा ४ धुर निजी जग्गा परेको छ । ४२५ कित्ता नम्बरको जग्गा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वराष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले खरिद गर्ने मौखिक आश्वासन दिएका थिए । तर, उक्त जग्गा व्यक्तिकै नाममा छ ।

प्रतिष्ठानले भवन निर्माणका लागि ७ करोड खर्च भएको बताएको छ । सूचनाको हकका अभियन्ता योगराज दाहालले सूचनाको हक प्रयोग गरी विराटनगर महानरगपालिकासँग माग गरेको विवरणमा आर्थिक वर्ष २०७८–०७९ देखि २०८०–०८१ सम्म जम्मा ३ कारोड ४९ लाख ४६ हजार ५ सय ५१ भुक्तानी गरेको देखिन्छ ।

दाहालले भवन निर्माण भइरहेको जग्गाको विषयमा मोरङ जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालीन अमाही इक्राही वडा नं. १ (क) को कित्ता नम्बर ४२५ र ४२४ को जग्गाबारे विवरण माग गरेका थिए । मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत भएको उल्लेख छ ।

पछिल्लो समय प्रतिष्ठानले ४२५ कित्ता नम्बरको ७ कट्ठा ४ धुर जग्गामध्ये भवन निर्माण भइरहेको ३ कट्ठा जग्गा मात्रै खरिद गर्ने बताएको थियो । जग्गा व्यक्तिकै नाममा रहेको खनालले बताए । ‘भवन बनिरहेको जग्गा निजी हो,’ उनले भने, ‘पास गर्ने कुरा थियो । तर, भएको छैन ।’ भवन निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ ।

अध्यक्ष रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो । भवनमा हल, ‘म्युजियम’ र गेष्टहाउस रहनेछन् ।

सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो । तर, विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको हो । यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.