
धरान । कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाटले जितेको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा पाँचथरलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै राष्ट्रिय लिगको छनौट प्रतियोगिताको रुपमा रहेको अन्तर प्रदेश लिगमा छनौट भएको छ ।
त्यस्तै, प्रदेश लिगमा दोस्रो स्थानमा रहेको धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगका लागि छनौट भएको छ ।
फाइनल चरणमा ७ अंकका साथ गाईघाट लिग च्याम्पियन भएको हो । धनकुटा ४ अंकका साथ दोस्रो भयो । खोटाङको बुइपा–११ तेस्रो स्थान भयो । धनकुटा र खोटाङको समान ४ अंक भए पनि गोलअन्तरमा धनकुटा दोस्रो भएको हो ।
उपाधिसँगै गाईघाटले नगद २ लाख, दोस्रो धनकुटाले १ लाख ५० हजार, तेस्रो भएको खोटाङले १ लाख २५ हजार र चौथो भएको पाँचथरले १ लाख पुरस्कार प्राप्त गरेको छ ।
गाईघाटका कप्तान युवराज थापा उत्कृष्ट खेलाडी हुँदै ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर गाईघाटकै निम छिरिङ लामा, उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रविण राई, उत्कृष्ट कोच गाईघाटका किरणकुमार कार्की, उत्कृष्ट डिफेन्डर बुइपाका रामशुर राई भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू भए ।
उनीहरूलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।



















