
काठमाडौं । काठमाडौंमा हुन लागेको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल इटालीका पूर्व कप्तान ज्यानलुइजी बुफोन आउने भएका छन् ।
विश्वकप विजेता इटालीका पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका हुन् ।
केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले फाल्गुन १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित हुने दाबी गरे । त्यसका लागि सम्झौता भइसकेको उनले जानकारी दिए ।
त्यसअघि ब्राजिलियन महान खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टाे कार्लाेसलाई प्रस्ताव राखिएको थेवेले बताए ।
कार्लाेस सुरुमा आउनका लागि तयार भए पनि अन्तिममा समय नमिलेका कारण रद्द भएको थियो । त्यसपछि बुफोनलाई ल्याउने प्रयास थालिएको उनको भनाइ थियो ।
सन् २००६ को विश्वकप विजेता बुफोन देशका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् ।
इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल खेलेका थिए ।
उनले ५ पटक विश्वकप खेलेका थिए । ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए ।
विदेशी २ टोलीसहित ९ टोलीको सहभागितामा केपी ओली कप आइतबारबाट सुरु हुँदैछ ।



















