
विराटनगर । विराटनगरमा भएको ‘प्रथम फ्युजन नगरस्तरीय विद्यालय तेक्वान्दो’ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ ।
विराटनगर महानगरपालिका–५ जामुनगाछीस्थित फ्युजन एकेडेमीको हलमा भएको प्रतियोगितामा ९ स्वर्ण, १५ रजत, १३ कास्यपदकका साथ एभरेष्ट प्रथम भयो ।
७ स्वर्ण, ४ रजत, ४ कास्यपदकका साथ अरनिको स्कुल द्वितीय, ५ स्वर्ण, २ रजत, ६ कास्यपदकका साथ पूर्वाञ्चल विद्या सदन तृतीय भयो भने ४ स्वर्ण, ७ कास्यपदकका साथ लिलिपुट स्कुल चौथो स्थान भएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ एभरेष्टका आर्यन अधिकारी र महिलातर्फ लिलिपुटकी त्राता खवास भए ।
पुम्से र ग्यारोगीका ३७ वटा इभेन्टमा २० विद्यालयका १ सय ७५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खेलाडीहरूलाई कोशी प्रदेशसभा सदस्य भीम पराजुली, नेपाल तेक्वान्दो संघ मोरङका अध्यक्ष दिवस नेपाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री नारायण बुढाथोकी, फ्युजन एकेडेमीकी अध्यक्ष सिर्जना सत्याल बुढाथोकीलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।



















