
झापा । झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा झापा ११ फुटबल क्लब पुगेको छ ।
प्रतियोगिताको उपाधि जितका लागि शुक्रबार आयोजक भद्रपुर ब्लेजर्ससँग झापा ११ खेल्ने छ ।
झापा ११ ले पाहुना टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । खेलको अन्तिम समय आफूलाई भुटानले समाल्न नसक्दा उपाधिविहीन हुँदै घर फर्कनु पर्यो ।
९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्जुरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औं मिनेटमा अग्रता बनाएको थियो ।
एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रूपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो ।
खेलको ८४ औं मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए । रसाइलीले मैदानको मध्य भागबाट लगेको बल २ जना डिफेन्डरलाई बिट गर्दै जाली चुमाए ।
दोस्रो हाफको अतिरिक्त समयमा रोहन कार्कीले गोल गर्दै खेल २–१ को स्थितमा पुर्याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए ।
अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–१ को स्थितिमा पुर्याए । समिर तामाङको क्रसपासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे ।
खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोके । खेलको १७ औं मिनेटमा भुटानका तुसार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापाले २१ हजार र ट्रफी पाए ।
खेलपिछ भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए ।
झापाले ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन बढेर गएको उनको भनाइ छ ।
त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोलकिपर चुक्दा हार व्यहोर्नु परेको बताए । केपी ओेली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।



















