कोशी प्रदेश खेलकुद महोत्सवको करातेमा विवाद नभएको स्पष्टोक्ति

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार १९:४२

विराटनगर । विराटनगरमा जारी ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव’ अन्तर्गत कराते खेल (प्रतियोगिता) मा कुनै पनि विवाद नरहेको जिल्ला खेलकुद विकास समिति मोरङले जनाएको छ । 

समितिका कार्यालय प्रमुख राजन पोखरेलले बिहीबार (आज) एक विज्ञप्ति जारी गर्दै विराटनगरमा जारी खेलकुद महोत्सवलाई जबरजस्ती विवादमा ल्याउन खोजिएको उल्लेख गरेका छन् ।

कराते महासंघको हवाला दिएर खेलकुद महोत्सवलाई जबरजस्ती ‘विवाद’मा ल्याउने प्रयास भइरहेको हुँदा सबैले सत्यतथ्यका आधारमा रहेर महोत्सवलाई सफल बनाउन पोखरेलले आग्रह गरेका छन् । 

पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कराते खेलका विषयमा आएको समाचारप्रति मोरङ जिल्ला खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण भएको छ । कोशी प्रदेशमा कराते महासंघ दर्ता नभएको र वैधानिक संघ नरहेको कुरा प्रष्ट पार्न चाहन्छु । साथै कराते महासंघको संशोधित विधान अनुसार जिल्ला संरचना पनि नरहेको उल्लेख भएकोले कुनै पनि जिल्लामा रहेको भनिएका कराते जिल्ला महासंघ वैधानिक नहुने कुरा स्पष्ट नै छ ।’ 

विराटनगरमा जारी खेलकुद महोत्सवअन्तर्गत कराते विधामा मोरङ जिल्लाको खेलाडी छनोट प्रक्रिया विवादित रहेको भन्ने कुरा तथ्यहीन रहेको विज्ञप्तिमा भनिएको छ । 

मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठ, उपाध्यक्ष शशिकला श्रेष्ठ, कार्यालय प्रमुख राजनकुमार पोखरेल, नेपाल कराते महासंघका केन्द्रीय सदस्य भानु यादव, कोशी प्रदेश कराते प्रशिक्षक विमल पोखरेल र राजु महर्जन, मोरङ जिल्ला खेलकुद विकास समितिमा कार्यरत कराते प्रशिक्षक प्रवीणकुमार राना मगर, मंजिल गौतम, कुन्ती गुरुङलगायत जिल्लाभित्रका विभिन्न १२ वटा डोजोका स्वयंसेवक प्रशिक्षकहरूको उपस्थितिमा खेलाडी छनोट भएको पोखरेलले बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.