
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले जितेको छ ।
दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा बागमती महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो ।
फाइनल खेलको पहिलो सेटमा एपिएफले २५ अंक हासिल गर्दै बागमतीलाई १० अंकमा रोक्न सफल भएको थियो भने दोस्रो सेटमा एपिएफले २५ अंक जित्दा बागमती २२ मा रोकिएको थियो ।
अन्तिम सेटमा बागमतीले १८ अंक प्राप्त गर्दा एपिएफ २५ अंक जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
प्रतियोगिताको उपाधि जित्दै एपिएफले ट्रफी , मेडल , प्रमाणपत्रसहित ५ लाख प्राप्त गरेको छ । उपविजेता बागमतीले ट्रफी , मेडल , प्रमाणपत्र सहित ३ लाख प्राप्त गरेको छ ।



















