
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सवमा विवाद सिर्जना गर्न खोजेको बताएका छन् ।
विराटनगरमा कोशी प्रदेशस्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै सदस्यसचिव बस्नेतले खेलकुद क्षेत्रमा दादागिरी गर्ने, अराजकता मच्याउनेले खराब अभिप्रायले महोत्सवलाई विवादमा पार्न खोजेको बताएका हुन् ।
सदस्यसचिव बस्नेतले नेपाल कराते महासंघको विधानले प्रदेशस्तरको कमिटीलाई मात्रै मान्यता दिएको बताउँदै विधानमा हुँदै नभएको जिल्ला कमिटीले आफ्नो अस्तित्वको दाबी गर्नु कानुन सम्मत नभएको समेत स्पष्ट पारे ।
उनले कराते महासंघ हालसम्म कोशी प्रदेशको खेलकुद संघ र संस्था मार्गदर्शन मातहत दर्तासमेत नभएको र विधानमा समेत जिल्ला संरचनाको अस्तित्व नभएको हुँदा आफैले जिल्ला संघको घोषणा गरेर चिठी लेख्दैमा खेलकुद बोर्ड र मातहतको जिल्ला खेलकुद विकास समितिले समेत मान्यता प्रदान नगर्ने जानकारी गराए ।
बस्नेतले खेलकुद क्षेत्रमा अराजकता मच्चाउने खोज्नेहरुको कानुनी उपचारका लागि प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग सल्लाह गरिरहेको बताए ।
कराते प्रतियोगिताको उद्घाटन समारोहको कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आफूले महानगरको प्रमुख हुँदा ५ औं साफ महिला फुटबल विराटनगरमा आयोजना गर्न सफल भएको स्मरण गर्दै प्रदेश खेलकुद महोत्सवलाई आफ्नो सम्पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।
महोत्सवअन्तर्गतकाे कराते प्रतियोगिताको विभिन्न विधामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरूकाे सहभागिता रहेको छ ।



















